बागलुङ । राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट गर्नुभएको छ ।
बिहीबार राष्ट्रपति पौडेलले करिब दुई करोड लागतमा निर्माण भएको महाघण्टको उद्घाटन गर्नुभएको हो ।
पञ्चकोटधामका परिकल्पनाकार एवं संस्थापक मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यो महाघण्ट स्थापना गरिएको थियो ।
पञ्चकोटमा बुधबारदेखि अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सुरू भएको छ । फागुन ९ देखि सुरु भएको महायज्ञमा पनि राष्ट्रपति पौडेल सहभागी हुनुभएको हो । सो क्रममा पौडेलले सोहि स्थानमा बन्दै गरेको १०८ फिट गण्डकी कलशकोसमेत अवलोकन गर्नुभएको थियो ।
दश वर्षअघि स्थापना भएको पञ्चकोटमा निर्माण भएका धार्मिक संरचनाका साथै निर्माणाधीन सो कलसका बारेमा स्वामी कमलनयनाचार्यले राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए । मुक्तिनाथ महाघण्ट पञ्चधातु सुन, चाँदी, तामा, पित्तल र फलाम मिसाएर बनाइएकाले यो घण्टीलाई ‘महाघण्ट’ भनिएको हो ।
महाघण्ट बनाउन आठ वर्ष लागेको जानकारी पनि स्वामी कमलनयनाचार्यले बताए । जलसम्पदाको संरक्षण गर्न सो कलश तथा विश्वमा शान्तिको सन्देश फैलाउन सो महाघण्टको स्थापना गरिएको उनले जानकारी दिए। विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो ।