‘बलेको आगो सबैले ताप्छन्, निभेको आगो कसैले ताप्दैन’ भन्ने नेपाली उखान पुस-माघ महिनातिर शितलहर चल्दा छर्लङ्ग हुन्छ । बलियाहरूको शक्तिको अगाडि सबै झुक्छन्, कमजोरहरूलाई कसैले गन्दै गन्दैनन् । शक्ति र सत्ताको पछाडि लाग्ने मानिसहरु जहाँ पनि पाइन्छ । तर, घुर देख्नेवित्तिकै घुरको पछि लाग्ने र घुर वरिपरि बसेर शितलहरको आक्रमणलाई छल्दै भलाकुसारी गर्दै बहुसंख्यक मानिसहरूलाई मधेसमा मात्र देख्न र भेट्न सकिन्छ ।
मधेस-तराईतिर मधेसी जनजीवनको रजगजले जाडोयाममा घुरा ताप्ने स्वयमसेवालाई जुन आर्थिक, सामाजिक र सांस्कृतिक आयाम प्रदान गरेको छ, त्यसले मधेस-तराईलाई परजीवी शक्तिको रूपमा नभई आत्मनिर्भर र स्वयमजीवी नागरिकहरू बस्ने ठाउँको रूपमा पहिचान दिलाउन सफल भएको छ । मधेसको विकास अर्थशास्त्रमा मधेस-तराईका गाउँहरूलाई नदेखेझैं गरेर माथिबाट तलसम्म चुहिएर आउने सरकारी योजना र विकास रणनीतिको भुइँ तहमा कुन औचित्य र सान्दर्भिकता रहेन भन्ने कुरालाई अब प्रष्ट रूपमा बुझ्न सकिन्छ । फेददेखि टुप्पोसम्म जाने विकास रणनीतिलाई आत्मसात गर्ने हो भने मात्र मधेस-तराईको ग्रामीण जनजीवनमा विकास र नयाँ परिवर्तनको जीवनरेखा कोर्न सकिन्छ ।
मधेस-तराईमा भुइँ तहका समुदायहरूप्रति लेखिएको विभेद कथाले दुनियाँको अगाडि कठोर सत्य उजागर गरिरहेको देखिन्छ । नेपालका शासकहरू जनताका नजरबाट गिर्न थालेपछि स्थानीय जनतालाई नै जनार्दन बनाउने लोकतान्त्रिक अभ्यासहरूको थालनी पनि पटक-पटक हुँदै गएको राजनीतिक परिवर्तन र शासकीय अभ्यासबाट थाहा हुन्छ। देशका कुना-कुनामा छरिएर रहेका कथित राजा, सामन्त र दलालहरू तथा उनाका आसेपासेहरूको पुर्ख्यौली अधिकारहरू ओरालो लागेपछि मधेस-तराईको मधेसी बहुल गाउँहरूमा पनि बिहानीको सूर्योदयसँगै झुल्किने घाममा जनताको उज्यालो भविष्य झन्-झन् उज्यालो हुँदै जाने र सप्रिँदै जाने आशा पलाउँदै गएको थियो ।
आम जनताहरूको सपना खेतदेखि खलिहानसम्म समृद्धि, विकास र खुसियाली आउँछ भन्ने नै थियो । तर, क्रमिक रूपमै सरकार छिटो-छिटो बन्ने र बदलिँदै जाने राजनीतिक दलहरूको सत्तामुखी अभ्यासले गर्दा नियत र नियतिबीचको विरोधाभासलाई पन्छाउन सकिएन । शासकहरू बरालिन थालेदेखि नै बहुलवादी समाजभित्रै विषमताका ठूला-ठूला खाडलहरू झन्-झन् गहिरो हुँदै गइरहेको आभास हुन थाल्यो । घुर ताप्ने समाजभित्र पनि उही रौनक र ठाँट-बाँट रहन सकेन । पछिल्लो चरणमा अनागरिकबाट नागरिक बानाइएकाहरू पनि ‘चिहानमाथि उम्रेको हरिया घाँस’जस्ता नै भए ।
यथार्थमा मधेसका गाउँहरूमा न कतै सिप छ, न इलम छ, न साधन छ, न शिक्षा छ, न त सामर्थ्य नै छ । सरकारमा जाने राजनीतिक धुरन्धरहरूले पनि बुझ पचाउन थालेका छन् । नागरिकहरूको दैनिकी र जीवनयापन अकल्पनीय रूपमा संघर्षपूर्ण हुँदै गइरहेको छ । मधेस मात्र हैन, अरू पनि प्रादेशिक र भौगोलिक प्रदेशहरूभित्र जनसरोकारका विषयहरूमा आशातित प्रगति भएको देखिँदैन । संघ, प्रदेश र स्थानीय निकायहरूमा ‘जसको लाठी, उसको भैंसी’ भन्ने सिद्धान्तबाट चल्न थालेको छ । बुद्ध र बुद्धिमाथि बन्दुकले निर्णायक भूमिका खेल्न थालेपछि अभावले गाँजिएका गरिबहरू भौंतारिएर हिँड्ने क्रम अझै रोक्न सकिएको छैन। मधेसको ऊर्जा, मधेसको राप र ताप, वातावरण र परिस्थितिअनुरूप बहुलवादी समुदायहरूको हितमा रूपान्तरण गर्न सकिएको छैन ।
आन्तरिक औपनिवेशिकरणबाट थिचिएका मधेसी बहुल गाउँहरूमा लोकतन्त्रलाई चिलिम च्वाट्ट पार्ने खेल प्रारम्भ भइसकेको लाग्न थालेको छ । नयाँ प्रशासक, नयाँ हाकिम, नयाँ नेताहरू गाउँ-गाउँ पुगेर जनताको सेवा गर्ने सोच राखे पनि विकासको खेती गर्ने सवालमा तिनीहरू असफल भइरहेका छन् । तिनीहरूले जनतालाई समता र समानता दिने कुरा परै जाओस्, सामान्य मानवअधिकार र सामाजिक न्याय दिने लगायतका कुराहरूमा पनि आँखा चिम्लिन थालेका छन् ।
मधेस-तराईमा भुइँ तहका समुदायहरूप्रति लेखिएको विभेद कथाले दुनियाँको अगाडि कठोर सत्य उजागर गरिरहेको देखिन्छ। नेपालका शासकहरू जनताका नजरबाट गिर्न थालेपछि स्थानीय जनतालाई नै जनार्दन बनाउने लोकतान्त्रिक अभ्यासहरूको थालनी पनि पटक-पटक हुँदै गएको राजनीतिक परिवर्तन र शासकीय अभ्यासबाट थाहा हुन्छ ।
मधेस बस्तीभित्रका घुरहरूमा अचेल घुरा ताप्नेहरूको आकर्षण घट्दै छ । गाउँघरतिरका युवा जमातहरू सुरक्षित रोजगारी र जीवनस्तरको खोजी गर्दै खाडी मुलुकतिर जान थालेपछि घरको दैलो अगाडिका दलानहरूमा अचेल घुर लगाउने ठाउँहरू सुनसान देखिन थालेको छ । सरकारसँग जाडोयाममा जनतालाई बाँड्ने काठपात र दाउरा घट्न थालेपछि गाउँघरका गरिबहरू प्राकृतिक संकटको विभिषिका झेल्न बाध्य भएका छन्। सरकारको विरोधमा ठूलो आवाज नउठे पनि भित्रै-भित्रै खुम्चिएर घुरा ताप्ने अभ्यासमा सीमित हुन थालेको अनुभव हुन्छ । गरिबीमा जेलिएका समुदायहरू, कुपोषणबाट ग्रसित बालबालिकाहरू, उपचारसमेत पाउन नसकेका बृद्धबृद्धाहरू, रोजगारी पाउन नसकेका ग्रामीण उच्च शिक्षितहरू, कुण्ठा त्रास र निराशाको वातावरणमा घुर तापिरहेका भेटिन सकिन्छन् ।
सरकारका नयाँ-नयाँ मन्त्रीहरू पनि पुराना शासकहरूकै लयमा नाच्न थालेपछि राम्रो बाटो-घाटो, राम्रो विद्यालय, राम्रो अस्पताल, रोजगारी दिने ठाउँहरू, गाउँघरका अति सामान्य परिवारका सदस्यहरूको लागि फलामको चिउरा साबित हुन पुगेको छ । देशको कानुनमा गुलियो भाषामा विधिको शासन लेख्दैमा देशमा कानुनी राज्यको अवस्था बहाल होला भन्ने कुरामा जनताको विश्वास घट्दै गइरहेको छ । चरम दमन, उत्पात र शोषणको बिउबाट उम्रिन पुगेको सम्भ्रान्तवाद, निजीकरण, नवउदारवाद र नवसामन्तवादले आम जनतालाई सहुलियत दिने कुरो गरे पनि उनीहरूलाई जल, जमिन र जङगलमाथि भोगचलन गर्ने अधिकार दिने लगायतका कुराहरू असम्भवजस्तो बनेको छ ।
मधेसको भाषा, संस्कृति र सामाजिक जनजीवनलाई घुरबाट नयाँ काम गर्ने उत्प्रेरणा हुन्छ भन्ने कुरामा सबैलाई विश्वास नलाग्न सक्छ तर सत्य के हो भने घुरअगाडि बसेर सुख-दु:ख बाँडेर पनि बाँच्न सकिन्छ भन्ने कुरामा भुइँ तहका भुइँ मान्छेहरूको अटल विश्वास हुन्छ । उहिले अमेरिका र युरोपतिर औधोगिक क्रान्ति भइरहँदा मधेस-तराईतिर घुर ताप्ने संस्कृतिको प्रचलन बढ्दै गइरहेको थियो । आज अमरिकाली समाजशास्त्रीहरूले पनि घुर ताप्ने कार्यबाट सामाजिक सद्भाव र सहकार्य र सहयोग कसरी प्राप्त गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न किसिमबाट अनुसन्धान र प्रयोग गरिरहेका भेटिन्छन् । घुरलाई गरिबी निवारणको उपायको रूपमा प्रयोग गर्दै गरेको देखेर अमेरिकाली समाजशास्त्रीहरू छक्क परेका छन् ।
घुर संस्कृतिले महत्वपूर्ण सामाजिक प्रचलनहरू र संस्कारहरुलाई निरन्तरता र पुनर्जीवन दिइरहेको छ । आज पश्चिमेली देशहरूको संस्कृति र समाज पूर्णरूपमा नष्ट भइसकेको छ । व्यक्तिगत स्वतन्त्रता छाडापनमा रूपान्तरण भइसकेको छ, परम्पराहरू छताछुल्ल भइसकेको छ । उनीहरूसँग सुख र आनन्द प्राप्त गर्न सबै थोक उपलब्ध छ तर उनीहरूको मनमा शान्ति र सन्तोष छैन । उनीहरू अनेकौं किसिमबाट विकृति र विसंगति तथा कुलतमा फस्दै गइरहेका छन् । उनीहरूमा व्यक्तिवाद र चरम स्वार्थीपनाको संस्कृति निर्माण हुँदै छ तर पूर्वीय दर्शनमा नेपाल र भारततिरका ग्रामीण क्षेत्रहरूमा सनातन धर्म, सनातन संस्कृति र परम्पराहरू आज पनि सुरक्षित छ । समाजका मानवतावादी विचार र नियमहरूलाई सबैले मानेका छन् । व्यक्तिगत स्वतन्त्रतामाथि सामाजिक अनुशासनको नियन्त्रण छ । यिनीहरू गरिबीबाट सताइएका छन् तर मानवताका पक्षधर छन् ।
अहिले पनि गाउँ-घरतिर सुविधाविहीन ठाउँहरूमा, जहाँ सूचना/प्रविधि घर-घर पुग्न सकेको छैन, त्यहाँ घुर संस्कृतिप्रति अदम्य उत्साह र आकर्षण देख्न सकिन्छ । पाको उमेरका मानिसहरूको लागि हरेक रोगको रामवाण दबाई घुरा ताप्नु र घुर सेवन गर्ने कार्य नै रहेको छ । घुर ताप्ने समाज नेपालभित्रकै नागरिकहरूका लालाबालाहरू हुन् । यिनीहरू शितलहर चल्दा होस् वा लू चल्दा होस्, काम गर्नबाट अलिकति पनि डराउँदैनन् । सहरिया संस्कृतिलाई पूर्णरूपमा आत्मसात गर्न नसकेका गाउँलेहरू रात-रातभरि जाग्राम बस्न सक्दछन् । भविष्यका योजनाहरू बनाउन सक्दछन् । यिनीहरूलाई समावेशी नबनाउँदासम्म देशमा ठूलो खैलाबैला र हलचल पैदा हुने पूरै सम्भावना रहन्छ । त्यसैले, कम्तीमा पनि सरकार सञ्चालन गर्ने सरोकारवाला निकायहरूले घुरा दनदनी बलिरहेको ठाउँमा पुगेर घुर ताप्नेहरूको अनुगमन गर्नु पर्दछ । नि:शुल्क घुर सेवाग्राहीहरुको खोजखबर लिइरहनु जरुरी छ । आधारभूत रूपमा भए पनि समाजमा देखिने गरिबीका आयामहरूलाई विचार गरेर घुरा संस्कृतिलाई जीवन्त राख्न उदार नागरिक समाजले पहल गरिदिनुपर्ने आवश्यकता टड्कारो रुपमा देख्न सकिन्छ ।