काठमाडौं । राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलको कार्यकक्षमा तालाबन्दी गरिएको छ । बोर्डका सदस्य डा.भेषराज आचार्य र शशिकुमार शर्माले बोर्ड अध्यक्ष पौडेलको कार्यकक्षमा आज आठ बुँदे मागसहितको विरोध पत्र टाँसी तालाबन्दी गरेका हुन ।
अध्यक्ष पौडेलले सदस्यहरुले पेश गरेका एजेन्डालाई कहिल्यै पनि बोर्ड वैठकमा पेश नगरेको र छलफलको विषय नै नबनाई लामो समयदेखि आफ्नो एकल एजेण्डामा पास गराउँदै आएपछि सदस्यहरु निकै असन्तुष्ट बनेका थिए ।
सदस्यहरुले आफ्ना मागहरु सम्वोधनका लागि अध्यक्ष सामु वारम्वार आग्रह गर्दा पनि वेवास्ता गरेपछि लिखित रुपमै एक वर्षअघि नौ वुँदे संस्थागत सुधारका माग सहित ज्ञापनपत्र बुझाएका थिए । उक्त ज्ञापनपत्रको अहिलेसम्म पनि सम्वोधन नगरी मनोमानी तरिकाले बोर्ड चलाउन खोज्दा तालबन्दी गरिएको सदस्य आचार्यले बताएका छन् ।
सदस्यहरुले समितिमा सुशासन कायम गर्न, चुरे ऐन बनाउन, सदस्य इकाइमा बसी अनुगमन गर्ने माहोलको निर्माण गर्न, ढुंगा–गिट्टी–वालुवाको सहमति पारदर्शी गर्न, चुरे संरक्षणमा हानी नहुने गरी मापदण्ड बनाएर आईईई, ईआईएको रिपोर्टलाई प्रभावकारी गराएर मात्र बोर्डबाट सहमति दिने परिपाटी बसाउनेलगायतका विषयमा पटकपटक वैठकको एजेन्डा बनाउन लिखित प्रस्ताव राख्दा पनि अध्यक्ष पौडेलले वेवास्ता गरेपछि तालाबन्दी गर्न वाध्य भएको अर्का सदस्य शशिकुमार शर्माले बताएका छन् ।
अध्यक्ष पौडेलले विगत ३४ महिनादेखि एकलौटीरुपमा बोर्ड चलाएको, बोर्ड सदस्यहरुलाई इकाई कार्यालय अनुगमन गर्ने उचित वातावरणलाई विथोलेको, इकाई प्रमुखहरुलाई सदस्यविरुद्ध परिचालन गरी सदस्यहरुलाई काम गर्न अवरोध पुर्याएको, मन्त्रिपरिषद्बाट पारित गठन आदेशमा तोकिएको आआफ्नो क्षेत्रमा अनुगमन गर्नेलगायत विभिन्न काम, कर्तव्य र अधिकार प्रष्टसँग उल्लेख भएकोमा तिनलाई वेवास्ता गर्दै सदस्यहरुलाई जिम्मेवारीविहीन बनाएको बताइएको छ ।
समिति गठन आदेश अनुसार हरेक बोर्ड सदस्यले एउटा–एउटा ईकाई हेर्ने व्यवस्था रहे पनि त्यसको वेवास्ता गर्दै अध्यक्ष पौडेलले बोर्ड सदस्यलाई इकाईमा जान नदिने, गए पनि बोर्ड सदयको विरोधमा कर्मचारीहरुलाई उचाल्ने गरेको बोर्ड सदस्य शर्माले बताएका छन् ।
हाल समितिमा पाँच वटा कार्यक्रम कार्यान्वयन इकाई रहेका छन् । ती इकाईहरुमा एकएक सदस्यले जिम्मेवारी लिई सम्पूर्ण काम र अनुगमन गर्ने गठन आदेशमा व्यवस्था भएतापनि सलकपुर इकाईमा विगत डेढ वर्षदेखि महिला बोर्ड सदस्यलाई त्यहाँ जान अध्यक्षद्वारा नै वन्चित गरिएको बताइएको छ ।
त्यस्तै जनकपुर इकाई हेर्ने जिम्मा बोर्ड सदस्य शशि शर्मालाई भए पनि प्रभावकारी रुपमा काम गर्न नदिएको, आर्थिक वर्ष २०८०/८१ मा शिर्षक नै नभएको कार्यक्रमको भुक्तानी भएको जानकारी आफूले गराउँदा पनि अध्यक्ष पौडेलले वेवास्ता गरेको शर्माले बताएका छन् ।
नियम अनुसार चितवन इकाई हेर्ने जिम्मेवारी अध्यक्षको भएपनि पौडेल आफ्नो इकाईमा अनुगमन गर्न नगएको बताइएको छ । त्यस्तै वुटवल इकाई महिला सदस्य डा. सुस्मिता ढकालले हेरे पनि उनलाई त्यहाँ जान वातावरण नबनाईएको, उनको नेम प्लेट र बोर्ड समेत हटाइएको र यसमा अध्यक्ष पौडेल र तत्कालिन इकाई प्रमुखको मिलेमतोमा यो काम भएको जानकारी सदस्यद्वय आचार्य र शर्माले बताएका छन् ।
लम्की इकाईको जिम्मेवारी डा. भेषराज आचार्यको भएतापनि उनले सहज रुपमा काम गर्न नपाएको बताइएको छ । त्यहाँका हालका इकाई प्रमुख रामकिशोर यादव र अध्यक्ष पौडेल सहपाठी भएकाले अध्यक्षले यादवलाई बोर्ड सदस्य आचार्यलाई सहयोग नगर्नु भनि पटकपटक मौखिक निर्देशन दिएको सप्रमाण आफूसँग रहेको र अध्यक्ष सदस्यहरुमाझ अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा कर्मचारीसँग मिली सदस्यहरुविरुद्ध परिचालन गराउन अध्यक्ष नै उद्दत भएकोले उनीसँग बसेर काम गर्न सक्ने अवस्था नरहेको आचार्यले बताएका छन् ।
राष्ट्रिय गौरवको रुपमा रहेको चुरेलाई संरक्षण गर्न बनेको समितिका अध्यक्ष पौडेलले प्रभावकारी रुपमा सञ्चालन नगरेको, चुरे दोहन रोक्न नसकेको र जागिर मात्र खाएर बसेको समिति सदस्यहरुले बताएका छन् । आफ्ना जायज मागहरु सम्वोधन नहुँदासम्म वैठकमा सहभागी नहुने सदस्यद्वय आचार्य र शर्माले बताएका छन् ।