तनहुँ । आज बिहान भएको जिप दुर्घटनामा घाइते भएका १२ जनामध्ये २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणका अनुसार मृत्यु हुनेमा नवलपरासीको बौद्धकाली गाउँपालिका– २ का ४२ वर्षीय रुमबहादुर विक र सोही ठाउँका ५५ वर्षीय जेमलाल दराई छन्।
तनहुँको भिमाद नगरपालिका वडा नम्बर–५ आमडाँडा नजिक आज बिहान साढे ९ बजे ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
घाइतेलाई प्रहरीले उद्धार गरेर भिमादस्थित जीपी कोइराला अस्पताल लगेको छ । दुर्घटनामा घाइते भएका १० मध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनीहरुलाई थप उपचारको लागि पोखरा रेफर गरिएको बताइएको छ ।
पोखराबाट यात्रु लिएर पाल्पा जाँदै गरेको जिप तीव्र गतिको कारण दुर्घटना परेको प्रहरीको अनुमान छ । जिप घुम्ती सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।