काठमाडौं । सत्तारूढ दलले राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेसंग सहकार्य नगर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलको बैठकले सत्ता गठबन्धनका दलहरूबीचमै मात्र राष्ट्रियसभाको निर्वाचनका लागि सिट बाँडफाँट हुने निर्णय गरेको हो ।
बैठकपछि कांग्रेसका नेता रमेश लेखकले गठबन्धनकैबीचमा सिट बाँडफाँट हुने र छिटै निष्कर्षमा पुगिने बताएका छन् । बृहद् लोकतान्त्रिक धारणाका साथ राष्ट्रियसभामा सत्ता र प्रतिपक्षबीच मिलेर जान सकिन्छ कि भनेर छलफल गरे पनि तत्काल सम्भव हुन नसकेको उनले बताए ।
उनले दलहरुबीच आन्तरिक छलफल गरेर पुन बैठक बस्ने र निष्कर्ष निकाल्ने बताए । राष्ट्रियसभामा १९ स्थानका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
यसैवीच राष्ट्रियसभा निर्वाचनका लागि मिलेर चुनाव लड्ने समझदारी गरेका सत्ता गठबन्धनका दलहरुले सिट संख्यामा आआफ्नो दाबी पेश गरेका छन् ।
शनिबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले राष्ट्रियसभा चुनाव हुने १९ सिटमा आफ्नो दलले पाउनुपर्ने सिट संख्या दाबी गरेका हुन् ।
बैठकमा सहभागी स्रोतका अनुसार कांग्रेसले १३, नेकपा माओवादी केन्द्रले ७, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ४–४ सिटमा दाबी गरेका छन् ।
राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।
नेपाली कांग्रेसका नेता रमेश लेखकका अनुसार राष्ट्रियसभामा अहिले अवधि सकिएका सदस्य संख्या, प्रदेशगत रुपमा दलहरुको मतभार आदिका आधारमा सिट संख्या तय हुनेछ ।



















