काठमाडौं । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकर काठमाडौं आइपुगेका छन् ।
उनी भारतबाट विशेष विमानमार्फत् काठमाडौं आइपुगेका हुन । उनलाई विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउदले स्वागत गरेका छन् । त्रिभुवन विमानस्थलबाट सोझै शितलनिवास पुगेर विदेशमन्त्री जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । जयशङ्करले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेट गर्ने छन् ।
उनले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको धारणा आदानप्रदानबारे छलफल गर्ने छन् । सोही अवसरमा संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे उनीहरूले आफ्ना धारणा आदानप्रदान गर्ने मन्त्रालयले जनाएको छ । मन्त्री साउदले भारतका विदेशमन्त्रीसहित सम्पूर्ण प्रतिनिधिमण्डलका लागि रात्रिभोजको आयोजना गर्ने छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा गरिने छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापार दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ । उनका अनुसार नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ ।
संयुक्त आयोगको बैठकमा द्विपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा सहमति र समीक्षा गरिए पनि नसक्ने र नहुने कुरामा नेपालले जोड दिन नहुने पूर्वराजदूत दिनेश भट्टराईले बताएका छन् ।



















