तेहरान । इरानको केरमान सहरमा दुईवटा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।
सो घटनामा परी १ सय ७० भन्दा बढी घाइते भएका छन् । विस्फोटहरू देशका पूर्व जनरल कासिम सुलेमानीको चिहान नजिक भएको थियो ।
इरानको सरकारी सञ्चारमाध्यमले सुलेमानीको हत्याको चौथो वर्षगाँठको अवसरमा आयोजना गरिएको कार्यक्रममा यी विष्फोट भएको जनाएको छ ।
इरानका डेपुटी गभर्नरले यो घटनालाई आतंकवादी हमला भनेका छन् । सन् २०२० मा अमेरिकाले जनरल कासिम सुलेमानीलाई ड्रोन आक्रमणमा मारेको थियो । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीपछि सुलेमानीलाई देशका सबैभन्दा शक्तिशाली व्यक्तिमा थिए ।
सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा सडकमा धेरै शव देखिएका छन् । इरानी सरकारी मिडियामा पोस्ट गरिएको भिडियोमा विस्फोटपछि ठूलो भीड क्षेत्रबाट भागेको देखाइएको छ। यस्तो अवस्थामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
इरानको राष्ट्रिय आपतकालीन सेवा संगठनका प्रवक्ता बाबक येक्ता परस्तले विस्फोटमा मारिनेको संख्या अझै बढ्न सक्ने बताए ।
अल जजिराका अनुसार इरानी सरकारी टेलिभिजनलाई भने कि ‘हामीले प्राप्त गरेको जानकारीले घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको देखाएको छ ।’
उनले यो पनि भने कि आपतकालीन सेवा हेलिकप्टरहरू केरमानबाट बिरामीहरूलाई राजधानी तेहरानका अस्पतालहरूमा लगिएको छ ।
पूर्व जनरल सुलेमानी ३ जनवरी २०२० मा बगदाद एयरपोर्टमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए । जसको निधन भएको आज चार वर्ष पूरा भएको छ । यसै अवसरमा उनको सम्मानमा एक कार्यक्रमको आयोजना गरिएको थियो, सोही कार्यक्रममा यी विस्फोटहरू भएका छन ।
उल्लेखनीय छ कि २०२० मा ट्रम्पले सुलेमानीको मृत्युलाई सबैभन्दा ठूलो विजयको रूपमा वर्णन गरेका थिए र अमेरिकाले उनलाई विश्वको नम्बर एक आतंकवादी भन्ने गरेको थियो ।

























