काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउने कुरामा कांग्रेसले योग्यता राख्न नसकेको बताएका छन् ।
शनिबार भक्तपुरमा कांग्रेस भक्तपुर-२ को क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै थापाले ठूलो पार्टी कांग्रेस रहे पनि पार्टीले सरकार चलाउने कुरामा योग्यता राख्न नसकेको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकारमा पुर्याएको कांग्रेसले चाहे सरकारबाट हटाउन सक्ने हैसियत पार्टीमा रहेको बताए । कांग्रेस संसदको ठूलो पार्टी भए पनि अहिलेको समस्या समाधान गर्ने जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठेको उनले बताए ।
महामन्त्री थापाले रोजगारीको ठूलो समस्या रहेकै कारण बालकुमारीमा दुई युवाहरूले ज्यान गुमाउन परेको बताए ।
उनले कांग्रेसको मिसन ८४ भन्दा पनि मिसन रोजगारी हुनुपर्ने बताए । पार्टीको गुटउपगुटका साथै निर्वाचनमा खल्तीबाट उम्मेद्वार छान्ने प्रवृति अन्त्य हुनुपर्ने बताए ।



















