काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भएको भौतिक र मानवीय क्षतिका घटनाको विषयलाई लिएर सरकारविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन् ।
कोरियन भाषा परीक्षा ‘ईपीएस कार्यालय’परिसरमा भएको आन्दोलनमा प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सोही विषयलाई लिएर विभिन्न राजनीतिक दलका युवा र ईपीएसमा भाषा परीक्षाको फारम भर्न नपाएकाहरू माइतीघरमा प्रदर्शन गर्न पुगेका हुन् ।
शुक्रबार ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको आदेशमा आन्दोलनमा गोली चलाइएको थियो । पण्डित विवादित छविका प्रशासक हुन् ।
ललितपुर घटनामा प्रमुख जिल्ला अधिकारी पण्डित र ललितपुर प्रहरी प्रमुख सिद्धिबिक्रम शाहले संयमता अपनाएको नदेखिएको सुरक्षा विज्ञहरूको बताएका छन् ।
प्रदर्शनकारीले ‘गृहमन्त्री राजीनामा दे’, ‘गोली चलाउन आदेश दिनेलाई कारबाही गर’, ‘दोषीलाई कारबाही गर’, ‘हत्यारा सरकार मूर्दावाद’, ‘पीडित परिवारलाई क्षतिपूर्ति दे’, ‘रोजगारीको व्यवस्था गर’,लगायतका नारा लगाएका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरी प्रदर्शनमा रोक लगाएको छ । तर उनीहरूले उक्त स्थानमा प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा लापरबाही गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ । बालकुमारीमा भएको घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले समिति बनाएको छ। गृहले उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो ।
समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।



















