काठमाडौं । ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुईजनाको मृत्यु भएको छ ।
सो घटनामा सातजना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् ।
कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले आज प्रदर्शन गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको थियो ।



















