काठमाडौँ । ललितुपरको बालकुमारी–ग्वार्कोमा प्रहरीको गोली लागेर दुई युवाको मृत्यु भएपछि चौतर्फी रुपमा सरकारको आलोचना सुरु भएको छ ।
स्वदेशमा रोजगारी पनि दिन नसक्ने र वैदेशिक रोजगारमा जान पनि अवरोध सिर्जना गर्ने सरकारको कार्यप्रति विरोध प्रदर्शन गर्दा गोली चलाएको भन्दै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायाणकाजी श्रेष्ठको राजीनामा माग गर्दै राजधानीमा विभिन्न ठाउँमा प्रदर्शन समेत गरेको छ ।
अनेरास्ववियुले ज्यानमारा सरकार मुर्दावाद, युवाको स्वदेशमै भविष्य सुरक्षित गर, मान्छे मार्न पाइँदैन लगायत प्लेकार्डसहित विरोध प्रदर्शन गरेका हुन ।
प्रहरी दमनबाट नभइ आन्दोलनरत युवाहरूको समस्या बुझी वार्ता र संवादमार्फत समाधान गर्न अनेरास्ववियु अध्यक्ष समिक बडालले माग गरेका छन् ।
अनेरास्ववियुले पक्राउ परेका युवालाई बिनाशर्त तत्काल रिहा गर्न, मृत्यु भएका युवाहरूको परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरूको उपचार गर्न माग गरेको छ ।



















