काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् ।
मंगलबार बसेको राज्यव्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका हुन् ।
आफू विदेशमा हुँदा यसबारे सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै उनले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको विषयमा सञ्चार मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई छानबिन गर्न निर्देशन दिएको बताए ।
साथै यसबारे छानबिन गर्न समिति बनाएको बताउँदै उनले समितिले विदेशी लगानीमा पर्ने असर, राजस्वमा पर्ने असर लगायतका विषयमा ३० दिनभित्र अध्ययन गरेर सुझाव तथा रायसहितको प्रतिवेदन दिने बताए ।
वैठकमा नेकपा एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठले प्रधानमन्त्री दाहाललाई एनसेल सरकारको स्वामित्वमा कहिले आउँछ प्रश्ने गरेका छन् ।
उनले भने,‘ जुन ढंगले एनसेल खरिदविक्री प्रकरण भएको छ । संसदमा तीन वटा समिति पनि सक्रिय भएका छन् । चार वटा समितिका चार वटा कुरा भए के गर्ने रु समितिका सभापतिमार्फत सभामुखको ध्यानाकर्षण गराउन चाहान्छु । सबै चासो देखाउने समिति र सम्बन्धित समिति सबै एउटैमा राखेर छलफल गर्नुपर्दैन र ?’
प्रधानमन्त्री प्रचण्ड र उनको परिवारसँग पनि जोडिएको भन्दै एउटा काण्ड नसकिँदै अर्को काण्ड आएर ढाकछोप गर्न लागेको बताएका छन् ।
श्रेष्ठले भने, ‘प्रधानमन्त्री प्रचण्डसँग र उहाको परिवारसँग पनि जोडिएको छ । राज्यका सबै संयन्त्रसँग पनि जोडिएको छ । बिरालोको रंगको विषयमा हामी किन बहस गर्छौ । विरालोले मुसा मार्छ कि मादैन भनेर हो । एउटा काण्ड सकिएको हुँदैन त्यो काण्ड छोप्नका लागि अर्को काण्ड निम्तिएको छ । सन् २०२८ सम्ममा यो त्यो बहानामा एनसेल फुत्किनु भएन । पाँच वर्षपछि एनसेल नेपालको मातहतमा आउछ कि आउदैन यसको जवाफ चाहियो । जुन पार्टी सरकारसँग जोडेर आइरहेको छ । यो कतै भ्रष्ट्राचार प्रणालीमाथि कै आक्रमण त होइन । यो समितिमार्फत छानविन समितिमार्फत अघि बढाउछु भन्नुभएको छ । यो एनसेल पाच वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउनका लागि सरकारले के के गर्नुपर्ने हो गर्नुपर्यो र आउनुपर्यो ‘।



















