नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधानअनुसार कुनै पनि दलको बहुमत नआउने बताएका छन् । उनले अहिलेको संविधानले कुनै पनि दललाई चुनावमा बहुमत ल्याउन नदिने ठोकुवा गरे ।
नुवाकोटको विदुरमा सोमबार प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै देउवाले संविधान जारी भएको आठ वर्षपछि विमति जाहेर गरे । उनले बहुमत नआउने भएका कारण अन्य दलसँग मिलेर चुनावमा गएको बताए ।
कांग्रेसको विधान र देशको संविधान दुवैको विषयमा कुरा उठिरहेका कारण आफूले गम्भीरतापूर्वक लिएको उनले बताए। आफ्नै दलभित्रसमेत विविध विचार आइरहेका कारण कांग्रेसले पनि अब सोचेर अगाडि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ।
असहमति र असन्तुष्टिलाई छलफल गरेर समाधान गर्नुपर्ने जोड दिँदै उनले राम्रो कामको समर्थन र गलत कामको खबरदारी गर्न नुवाकोटबासीलाई आग्रह गरे। उनले देशमा विविध परिवर्तन गरेको कांग्रेस दलहरुबीच छुट्टै महत्वको भएको बताए ।



















