काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्यपहाडमा पार्टीले जनताको अपार समर्थन र माया पाएको बताएका छन् ।
बिहीबार बिहान भोजपुरमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्मको सङ्कल्प यात्राका क्रममा मध्यपहाडको समस्या, सम्भावना र अवसरहरूलाई नजिकबाट नियाल्ने काम भएको बताएका छन् ।
महासचिव पोखरेलले एमालेको सङ्कल्प यात्राले जनतामा फैलिएको निराशालाई आशामा बदल्न सहयोग पुगेको उल्लेख गर्दै मध्य पहाडमा आर्थिक विकास र समृद्धिको ठुलो सम्भावना कायम रहेको बताएका छन् ।
मध्यपहाडमा बसाईसराईंको बढ्दो प्रवृत्तिलाई रोक्न सकिने बताउँदै महासचिव पोखरेलले मध्य पहाडी लोकमार्ग भविष्यमा नेपालको समृद्धिको आधार बन्न सक्छ भन्ने निष्कर्षमा एमाले पुगेको बताएका छन् ।
मध्यपहाडमा अझै पनि सम्भावना रहेको बताउँदै उनले मध्यपहाडको जीवनस्तर उकास्न फलफूल खेतीलाई आधार बनाउन सकिने बताएका छन् ।
महासचिव पोखरेलले यात्राका क्रममा जनताले स्थानीय परिकार, पहिचान र संस्कृतिले स्वागत गरेको भन्दै त्यसको पहिचान र प्रचारका लागि समेत सहयोग पुगेको बताएका छन् ।
मङ्सिर १४ गते झुलाघाटबाट सुरु भएको एमालेको सङ्कल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिँदै छ ।