काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका छन् ।
बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन ।
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद पारदर्शी हुनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्री दाहालले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन आफूले निरन्तर प्रयास गरिरहेको बताउँदै थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रधानमन्त्री दाहालले भनेका छन्, ‘‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटक पटक छलफल गरेको छु। हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’’
हवाई सुरक्षामा केही सुधार भएको दावी गर्दै प्रधानमन्त्री दाहालले त्यसको आधारमा इयुको कालोसूचीबाट हट्छौँ कि भन्ने विश्वास रहेको बताएका छन् । हवाई सुरक्षाबारे थप सुधारका निम्ति काम गर्नुपर्ने परिस्थिति देखिएको वताउँदै नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुने बताएका छन् । रास्वपाले दिएका सुझाव महत्त्वपूर्ण रहेको उनले बताएका छन् ।