काठमाडौं । संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोेकेका हुन् ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुख घिमिरेले कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका हुन् ।
संघीय संसदका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले महासचिवमा पाण्डेको नाम सिफारिस गरेका थिए ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।




















