विराटनगर । एमालेको यात्रामा अवरोध गर्नका लागि रुख ढाल्ने ८ जना पहिचानवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । एमालेले ओखलढुंगामा तयार पारेको स्वागतद्वार पहिचानवादीले भत्काएर जलाइदिएका छन् । ओखलढुङ्गा, खोटाङ्गलगायतका जिल्लामा मध्यपहाडी लोकमार्गमा रुख ढालेर बाटो अवरोध गर्ने पहिचानवादीलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय कोशीका प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले बताएका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीले गस्ति गरिरहेको र सुरक्षा अवस्था कडा पारिएको वताउँदै डीआईजी बास्तोलाले अहिले सबैतिरको अवरोध हटाइसकिएको बताएका छन् ।
एमालेको संकल्प यात्रालाई लक्षित गर्दै पहिचानवादीले बन्दसम्मका आन्दोलन घोषणा गरेका छन् ।
सङ्कल्प यात्राका क्रममा दिउँसो १ बजे एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर, ओखलढुंगा, खोटाङ र सोलुखुम्बुको संयुक्त व्यवस्थापनमा हुने आमसभामा घुर्मी–हर्कपुरमा सम्वोधन गर्ने कार्यक्रम छ ।
एमालेको केन्द्रीय टोलीमा अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र सुरेन्द्र पाण्डे, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाललगायतका नेता छन् ।
बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।



















