काठमाडौँ । नेकपा एमालेको मध्य पहाडी राजमार्ग केन्द्रित समृद्धिका लागि सङ्कल्प यात्रा आजबाट कोसी प्रदेश प्रवेश गर्दैछ ।
सोमबार राती रामेछापको मन्थली आइपुगेको टोलीले आज बागमती प्रदेशका रामेछाप र सिन्धुली जिल्ला पार गर्दै कोसी प्रदेशको उदयपुरस्थित घुर्मीमा आमसभा गरेर बास बस्न खोटाङको सदरमुकाम दिक्तेल पुग्ने छ ।
सिन्धुलीको खुर्कोट, ओखलढुङ्गाको हर्कपुर र खोटाङको हलेसीमा स्थानीय बासिन्दा, कार्यकर्ता र नेताहरूसँग अन्तरक्रिया गर्दैछ ।
नेताहरूका अनुसार आज ६६ किलोमिटरको दुरी पार गर्दा गन्तव्यमा पुगिनेछ । यात्राको छैटौँ दिन अर्थात् मङ्सिर १९ गते टोलीले सबैभन्दा लामो दुरी १९२ किलोमिटरको यात्रा पार गरेको थियो ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने, विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले मंसिर १४ गतेबाट यात्रा शुरु गरेको हो ।




















