काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले महासमिति बैठक (नीति महाधिवेशन) अघि जनताको मत समेक्षण गर्ने भएका छन् । जनभावना अनुसार पार्टीलाई अगाडि बढाउनु पर्ने धारणा राख्दै आएका महरले आफूले नीति महाधिवेशनमा पनि जनताकै भावनालाई जोडदारका साथ उठाउने बताए ।
उनले नीति महाधिवेशनमा कुन-कुन विषय उठाउनु पर्ला भनेर प्रविधिको प्रयोग (गुगल फर्म)का माध्यमबाट पार्टीका क्रियाशील सदस्य, शुभेच्छुक र जनतासँग आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव माग गरेका हुन् ।
नेता महरले ८ लाख ६६ हजार क्रियाशील सदस्य, शुभेच्छुकलगायत आमजनतासँग समेत,आगामी नीति कस्तो बनाउने भन्ने बारेमा सुझाव लिन आफूले गुगल फर्मको व्यवस्था गरेको बताए ।
‘राजनीतिक दल कस्तो हुनुपर्छ भन्ने आम चासो हुन्छ । हामीले अधिकांश जनताको सुझाव लिनुपर्छ। पार्टीले नै यो काम गर्नुपर्यो । तर, ढिलो भैसककेकाले कसैन कसैले त गर्नै पर्ने भयो । त्यसैले मैले यो व्यवस्था गरेको हुँ । म क्रियाशील सदस्य, शुभेच्छुक र जनताबाट प्राप्त सुझावलाई नै नीति महाधिवेशनमा उठाउने छु,’ उनले भने ।
कांग्रेसका आठै तहबाट पनि आगामी गन्तव्य कस्तो बन्नुपर्छ भन्नेमा धारणा लिनुपर्छ भनेर आफूले केन्द्रीय कार्यालयमा माग-पत्र दर्ता गरेकोमा त्यस्तो हुन नसकेको उनको छ ।
महरले विभिन्न १८ वटा सुझाव राख्दै गुगल फर्म सार्वजनिक गरेका हुन् । विद्यमान राजनीतिक ब्यवस्थाप्रति भइरहेका नकारात्मक टिप्पणी तपाईंलाई कस्तो लाग्छ?, व्यवस्थाप्रति नै नकारात्मकता देखिनुको कारण के होला? लगायत उनले १८ वटा प्रश्नमा सुझाव माग गरेका छन् ।
यसका साथै पार्टीभित्र अवसरको समान वितरण हुनुपर्ने महरले बताए । कसैले जहिले पनि अवसर पाउने र केही काम नगर्ने तथा कसैले अवसर नै नपाउने अवस्था आए नेताहरूप्रति जनतामा निराशा पैदा हुने उनको भनाइ छ ।
केन्द्रीय सदस्य महरले कांग्रेस निर्वाचन जित्नमात्र चिन्ता गर्ने दल नभई जनताको समस्या सुन्ने दल बनाउन नेतृत्व सक्रिय हुनुपर्ने बताए ।
‘नेपाली कांग्रेसलाई अब गठबन्धन बिनै २०८४ मा बहुमत ल्याउन सक्ने पार्टी बनाउनमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ महर भन्छन्, ‘त्यसका लागि हामी जनतामाझ नै जाने हो । उहाँहरूका कुरा सुन्ने हो । जनपेक्षा अनुसार काम गर्ने हो । त्यसपछिमात्र हामी बहुमत प्राप्त गर्न सक्छौं ।’
नेपालमा राजनीतिक दल पारदर्शी नभएको गुनासो नागरिकमा व्याप्त रहेको समयमा अब जनताका माझमा जानुपर्ने र उनीहरूकै अनुसार पार्टीलाई अगाडि बढाउनुपर्ने महरको भनाइ छ ।
अनलाइन फारममार्फत सुझाव दिन क्लिक गर्नुहोस् ।




















