बागलुङ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले अहिलेको सरकार चरम असफल सरकार भएको दाबी गरेका छन् ।
बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्ग हुँदै बागलुङको सदरमुकाम बागलुङ बजार आइपुगेका ओलीले बिहीबार जनसभा कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकार असफल मात्र नभइ चरम असफल सरकार भएको र राजीनामा दिनुपर्ने बताएका हुन् ।
अध्यक्ष ओलीले देशमा अस्थिरता, अराजकता, जनताहरुमा निराशा बढ्दो रहेको र युवाहरु पलायन भइरहेको बताए । उनले देशको अर्थतन्त्र ध्वस्त हुँदै गएको दाबी गरे ।
कर्मचारीहरुलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाएको बताउँदै अध्यक्ष ओलीले सरकारले कुन मुखले सरकार हुँ भनेर कुर्चिमा बसेको छ भन्दै प्रश्न समेत गरे।
उनले वर्तमान सरकारले राष्ट्रघाति काम गर्ने, देशको इज्जत समाप्त पार्ने, स्वाधीनता कमजोर पार्ने, राष्ट्रिय हितको रक्षा गर्न नसक्ने र भूमिको रक्षा गर्न नसक्ने दाबी गरे।

वर्तमान सरकारसँग कता जाने भन्ने गन्तव्य नै नभएकोले जनतामा निराशा पैदा भएको अध्यक्ष ओलीको भनाई छ। उनले सरकारले समृद्ध नेपाल भन्न नसकेको र जनता खुसी हुनुपर्छ भन्ने धारणा नै नभएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले एमालेले देशको नेतृत्व गरेको बेला राष्ट्रियताको रक्षा र विकास निर्माणको काम गरेको बताए । उनले एमालेको नेतृत्व र अगुवाईमा मात्रै देशको विकास हुने, राष्ट्रियताको रक्षा हुन सक्ने बताए । ओलीले कुर्सीभन्दा पनि पहिले विकास हुनुपर्ने भनेर नै आफू सरकारमा हुँदा चीनसँग जोड्ने सडक खोल्दा आफूलाई सरकारबाट हटाउँछन् भन्ने थाहा हुँदाहुँदै पनि देशको विकासको लागि चीनसँग जोडिएको बाटो खोलिएको स्मरण गराए।

अध्यक्ष ओलीले समृद्धिको लागि संकल्प यात्रा २०८० को क्रममा बाटोमा जनताहरु उत्साहित र हर्षउल्लासपूर्ण पाएको बताए । उनले जनताको सहभागिताले आफूमा उत्साह र आत्मविश्वास बढेको दाबी गरे ।



















