काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनको असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन् ।
संयुक्त राष्ट्र सङ्घीय जलवायु सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्स (यूएई)को दुबई पुगेका प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेको असरका बारेमा पनि विश्व समुदायलाई ध्यानाकर्षण गराउने बताए ।
प्रधानमन्त्री दाहालले आफू नेपालका एजेण्डा राख्ने तयारीका साथ सम्मेलनमा आएको जानकारी दिए ।
संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले आयोजना गरेका स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोप–२८ मा जलवायु परिवर्तनबाट नेपाललाई परेको असरको क्षतिपूर्तिका रुपमा वित्तीय र प्राविधिक सहयोगको अधिकारलाई बलियो ढङ्गबाट उठाउने बताएका हुन् ।
दुबईस्थित नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रममा प्रधानमन्त्रीले अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था भइरहेको समेत जानकारी दिए ।
विदेशमा बसेका नेपालीले निर्वाचनमा भाग लिन नपाउँदा लोकतन्त्र बलियो नहुने भन्दै उनले विदेशमा रहेका नेपालीको मताधिकारका लागि सरकार गम्भीर भएको बताए ।
कार्यक्रममा यूएईका लागि नेपाली राजदूत क्षेत्रीले यूएई र नेपालबीच व्यापार, पर्यटन र प्रविधिमा सहकार्य गर्नसकेमा नेपालको आर्थिक विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । रासस



















