काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १७ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री दाहालले देउवा र ओलीसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्री दाहालले शान्ति प्रक्रियाका अधिकांश काम सम्पन्न भए पनि महत्वपूर्ण कामहरू अझै बाँकी रहेको भन्दै शान्ति सम्झौताका मुख्य साझेदारसँग छलफल गरेको बताए।
उनले भने- ‘नेपाल सरकार र नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भई देशमा राजनीतिक परिवर्तनसहित शान्ति प्रक्रिया अगाडि बढेको १७ वर्ष पूरा भएको छ। यस अवधिमा शान्ति प्रक्रियाका अधिकांश कामहरू सम्पन्न भएका छन्। यद्यपि, केही महत्वपूर्ण कार्यभारहरू अझै पनि बाँकी छन्। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिनको सन्दर्भमा आज शान्ति सम्झौताका मुख्य साझेदार दलका नेताहरूसँग महत्वपूर्ण छलफल भएको छ। शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आवश्यक कानुन निर्माण गर्ने कुरा हामी एकतावद्ध र प्रतिवद्ध छौं।




















