
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का पूर्वसांसद हरिनारायण रौनियार एमाले प्रवेश गरेका छन् । पर्साको पोखरियामा मंगलबार आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले रौनियारलाई पार्टीमा स्वागत गरेका हुन् ।
रौनियारसँगै नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विना देवीलगायत विभिन्न पार्टीका सयौं नेता कार्यकर्तालाई ओलीले एमालेमा स्वागत गरेका छन् ।
२०७४ को निर्वाचनमा पर्सा ३ बाट सांसद निर्वाचित रौनियार पप्पु कन्ट्रक्सनका पूर्वसञ्चालकसमेत हुन् । रौनियारको नेतृत्वमा जसपाका अन्य केही कार्यकर्ताहरु पनि एमालेमा प्रवेश गरेका छन् ।
जसपा अध्यक्ष यादव एकलौटी निर्णय गर्न लागेको र आफूलाई दुःख दिन थालेपछि सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको रौनियारले बताएका छन् । एमाले अध्यक्ष ओलीबाटै देशको विकास र समृद्धि सम्भव रहेको रौनियारले बताएका छन् ।
कार्यक्रममा एमाले केन्द्रीय सचिव योगेश भट्टराई, रघुवीर महासेठ, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली र केन्द्रीय सदस्यहरु अरविन्द सिंह, राजकुमार गुप्ता लगायतको उपस्थित थियो ।





















