काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्व जस्ता चाडपर्वले विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने बताएकी छिन् ।
छठ पर्व, २०८० को अवसरमा शुभकामना सन्देश व्यक्त गर्दैै उनले प्रकृतिको पूजा गरिने यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्गतिको अन्त्य गरी समतामूलक, सभ्य र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन् ।
पूर्वराष्ट्रपति भण्डारीले छठ पर्वलाई विविध भौगोलिक क्षेत्र, भाषाभाषी, जातजाति र संस्कृति अँगालेका नेपालीहरूको मनलाई आपसमा जोड्ने सेतुको रूपमा लिन सक्ने बताएकी छिन् ।
छठ पर्व जस्ता चाडपर्वका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा सामाजिक सद्भाव एवं एकताको प्रवर्द्धनमा मद्दत पुग्ने भन्दै उनले यसबाट राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरेकी छिन् ।