काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले टिकटक बन्द गराउने सरकारको निर्णयको विरोध गरेका छन् ।
उनले सो निर्णयको प्रतिरोध गर्दै ‘नेताहरु भ्रष्ट भए भन्दैमा दलहरुमाथि नै प्रतिबन्ध लगाउन नहुने’ टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाललाई नियमन गर्नुपर्नेमा बन्द गर्ने काम भएको भन्दै उनले विषयवस्तुको नियमन गर्नुपर्नेमा माध्यमलाई नै प्रतिबन्ध लगाउन खोजिएको टिप्पणी गरे ।
‘अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिन्छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो निर्णय गर्ने सत्ताधारी दलकै कैयौ नेताहरु भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने हो त ?’




















