काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय कुनै पनि दृष्टिले उचित नभएको बताएका छन् । उनले कुनै एउटा मात्र सामाजिक सञ्जाल प्लेटफार्मलाई प्रतिबन्ध लगाउनु उचित नभएको बताए ।
सोमबार सरकारले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उनले यो उचित नभएको टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नियमनका नाममा छनौटमा आधारित प्लेटफर्म नै बन्द गर्ने कुरा उचित भएन है । अराजकता र छाडापनका लागि कुनै एक प्लेटफर्मको मात्र प्रयोग भएको छ वा हुन्छ भन्ने कुरा सत्य होइन ।’
उनले सामाजिक सञ्जालमा प्रस्तुत गरिएको सामग्रीका आधारमा नियमन गरी अराजकता र छाडापन रोक्नु उपयुक्त हुने बताएका छन् ।




















