काठमाडौं । सामाजिक सञ्जाल टिकटक आजैदेखि बन्द हुने भएको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेसँगै प्रक्रिया अघि बढेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले टिकटकले सामाजिक सद्भाव बिथोल्ने गरी पारिवारिक संरचना र सामाजिक सम्बन्धलाई खलबल्याउने गरी प्रचारप्रसार हुन थालेपछि बन्द गर्न निर्णय गरिएको बताइन् ।
बैठकले टिकटक बन्द गर्न सञ्चारमन्त्रालयलाई निर्देशन दिएको बताउँदै मन्त्री शर्माले सञ्चारमन्त्राय र दूरसञ्चार प्राधिकरण तयारी अवस्था रहेको उनले बताइन् ।
केही दिनअगाडि पछिल्ला दिनमा अभिव्यक्ति स्वतन्त्रताको आडमा छाडा, घिनलाग्दा, उत्तेजक, व्यक्तिको मानमर्दन गर्नेजस्ता गतिविध बढेको भन्दै सरकारले निर्देशिका ल्याएको छ ।
सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका-२०८० पारित गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माका अनुसार सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले उक्त निर्देशिका ल्याएको छ ।




















