काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय सम्वतलाई व्यवहारमा लागू गर्ने बताएका छन् ।
शनिबार पद्मरत्न तुलाधर राष्ट्रिय स्मृति प्रतिष्ठान र पद्मरत्न लुमन्ति गुथिद्वारा आयोजित पद्मरत्न तुलाधरको पाँचौं स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल सम्वतलाई नेपाल सरकारका दस्तावेजमा लेख्न बताएका छन्।
उनले पद्मरत्न तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनको अग्रज भएको बताए। उनी राष्ट्रिय व्यक्तित्वसमेत रहेको बताए। मानव अधिकार र साँस्कृतिक आन्दोलन संवर्द्धनमा तुलाधारले ऐतिहासिक भूमिका निर्वाह गरेको उनको भनाई छ।
प्रचण्डले पुराना पार्टी, गणतन्त्रमाथि प्रश्न उठाउने दुष्साहस भइरहेको बताए। उनले लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्रमाथि तल्लो स्तरमा उत्रेर प्रश्न उठाउने दुस्साहस भइराखेको टिप्पणी गरे ।
उनले नयाँ पुस्तालाई गएको ७० वर्षको नेपाली जनताको विरासत र इतिहास जानकारी गराउनुपर्ने आवश्यकता समेत बताए। उनले प्राप्त उपलब्धिको बारेमा जनतालाई बुझाउनुपर्ने आवश्यकता झन् बढेको बताए ।
लोकतन्त्रवादी, मानवअधिकारका अभियन्ता तथा आदिवासी जनजातिका अगुवा तुलाधरको गतवर्ष ७८ वर्षको उमेरमा निधन भएको थियो ।




















