काठमाडौँ । सार्वजनिक स्थानका छाडा चौपाया व्यवस्थापन गर्ने मुख्य उद्देश्यले काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काञ्जी हाउस सञ्चालनमा ल्याएको छ ।
काठमाडौंका मुख्य सडक, नदी किनारा, उद्यान, चउर, चोक, मठमन्दिरजस्ता सार्वजनिक ठाउँमा छाडा चौपाया भेटिने जनाउँदै महानगरले यस्ता बेवारिसे चौपायाको व्यवस्थापन गर्ने दायित्व पूरा गर्न काम सुरुआत गरेको जनाएको छ । महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेश झाका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ मा यससम्बन्धी व्यवस्था छ ।
उनले भने, ‘काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिकटन साइलेज खरिद गरेर ल्याइसकेका छौँ । हेरचाह गर्नका लागि दुई स्थानीयवासीलाई दैनिक ज्यालादारीमा लिएका छौँ ।’
दक्षिणकाली नगरपालिकाको वडा नं ७ सँगको सहकार्यमा पानी, बिजुलीलगायतको प्रबन्ध गरिसकेको छ ।
उनले भने, ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् । तिर्खा लागेका बेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन् र छाडा चौपायाकै कारण सवारी दुर्घटनासमेत हुने भएकाले तीनलाई व्यवस्थापन गर्न सुरु गरिएको हो ।’
काञ्जी हाउस सञ्चालन गर्न २०७८ फागुन ३ गते काठमाडौं महानगरपालिका र दक्षिणकाली नगरपालिकाबीच सम्झौता भएको हो । काञ्जी हाउसमा दैनिक पशु व्यवस्थापन, हेरचाह तथा सरसफाइका लागि महानगरले कर्मचारी खटाउने छ । थप पूर्वाधार निर्माण तथा मर्मतसम्भार, मृत जनावरको व्यवस्थापनलगायत काम महानगरले नै गर्नेछ । पशु सेवालाई दैनिक सञ्चालन गर्न खाद्यान्न, औषधि, उपकरणको प्रबन्ध पनि महानगरको जिम्मामा छ । यस ठाउँमा एक सय २६ रोपनी जमिन छ । सार्वजनिक चौपाया व्यवस्थापनसँगै सडक दुर्घटना कम हुने महानगरले विश्वास लिएको छ ।
छाडा चौपाए व्यवस्थापनमध्येकै चौपाया लिलामी एउटा विधि थियो । सडकका चौपाया जम्मा गरेर आर्थिक वर्ष २०५७/५८ एक वर्षमा १६० गाईबाच्छा महानगरले लिलामी गरेको थियो । आर्थिक वर्ष २०७०/२०७१ मा ३८८ चौपाया लिलामी गरियो । त्यस समयमा टेकु ट्रान्सफर स्टेसन नजिक काञ्जी हाउस सञ्चालन गरिएको थियो । (रासस)




















