काठमाडौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले बहुमूल्य सामान बोकेर भिडभाडमा जाने गल्ती नगर्न अनुरोध गरेको छ । उपत्यका प्रहरीले यसरी जाँदा चोरीको सम्भावना अधिक हुने भएकाले विशेष ख्याल गर्न पनि सुझाएको हो।
तिहारलगायत चाडपर्वको समयका लागि ११बुँदे अनुरोध सार्वजनिक गर्दै प्रहरीले आफ्नो सुरक्षामा पहिले आफैँ सचेत हुन सके धेरै घटनाबाट जोगिन सकिने जनाएको छ । तिहार, नेपाल संवत् तथा छठपर्वको अवसरमा शान्ति र सुरक्षालाई मजबुत बनाउन उक्त कार्यालयले सर्वसाधारणमा जारी गरेको अपिलमा लंगुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन पनि भनेको छ।
साथै चाडपर्वको समय भएकाले यातायात क्षेत्रमा हुने अवाञ्छित गतिविधिलाई पनि ट्राफिकमार्फत निगरानी बढाएको जनाइएको छ। सार्वजनिक गरिएको अनुरोधमा पटाका, आतिसबाजीजस्ता विस्फाेटक पदार्थको कारोबार गर्ने कार्य नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान पनि भनिएको छ।
नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भिडभाडमा सकेसम्म नजान, घर तथा पसलबाहिर जानुपरेमा घरको झ्यालढोका राम्रोसँग बन्द गरेको छ–छैन यकिन गर्न तथा सकेसम्म साइरनजडित ताल्चा जडान गर्न पनि प्रहरीले अनुरोध गरेको छ।
लामो समय घर वा पसल छोडी बाहिर जानुपरेमा छिमेकी तथा स्थानीय प्रहरीलाई खबर गर्न सकेसम्म डिजिटल प्रविधिमार्फत रकमको कारोबार गर्न, आफ्नो मोबाइल बैंकको ओटिपी कोड सुरक्षित राख्न पनि अनुरोध गरिएको छ ।
यस्तै, चेकबाट कारोबार गर्नुपर्ने अवस्थामा आफ्नो रकमले खाम्ने अंकको मात्र चेक जारी गर्न तथा सामाजिक सञ्जालमा आफ्नो व्यक्तिगत तथा यात्राको विवरण अद्यावधिक गर्ने कार्य नगर्न पनि अनुरोध गरिएको छ । (रासस)




















