काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १४ बुँदे सुझाव दिएका छन्। भूकम्प प्रभावित जाजरकोट र रुकुम (पश्चिम)बाट फर्किए लगत्तै लामिछानेले बुधबार बिहान बालुवाटारमा पुगेर प्रचण्डलाई भेटेर त्यहाँको यथार्थबारे जानकारी गराएका हुन्।
सभापति लामिछानेले राहत व्यवस्थापन र वितरण तथा पीडितले तत्काल भोगेका समस्या र थप बन्दोबस्तीबारे प्रधानमन्त्रीलाई उनले १४ बुँदे सुझाव दिँदै ध्यानाकर्षणसमेत गराएको रास्वपाले जनाएको छ। रास्वपाका अनुसार भेटमा सभापति लामिछानेले ‘परिवर्तनका लागि विगतमा तातो गोली थाप्न तयार भएका जनतालाई चिसोबाट बचाउनुस्’ भन्दा प्रधानमन्त्री दाहाल गम्भीर भएका थिए ।
छलफलमा प्रधानमन्त्री दाहालले भूकम्प प्रभावित क्षेत्रमै पुगेर लिएको पहलकदमी र सुझावका लागि सभापति लामिछानेलाई धन्यवाद दिँदै प्राप्त सुझाव प्राथमिकताका आधारमा कार्यान्वयनका लागि मन्त्रिपरिषद्को बैठकमा समेत प्राप्त सुझावहरु राख्ने प्रतिबद्धता जनाए ।
मंगलबार काठमाडौंमा रास्वपालाई नबोलाइ बैठक बसेर गणतन्त्र र संविधानमाथि आएको खतरा मिलेर सामना गर्ने निर्णय गरेकोप्रति लामिछानेले आलोचना गर्दै पश्चिम नेपालमा आएको विपत्तिको मिलेर उद्धार गर्न आग्रह गरेका थिए ।
गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिकरुपमा ठूलो क्षति गरेको छ। भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिममा हालसम्म ८२ जना बालबालिकाको मृत्यु भएको छ ।
सरकारले मृतकका परिवारलाई २ लाख दिने घोषणा गरेको छ। प्रचण्डले राहत विवरण एकद्वार प्रणालीबाट वितरण हुने जानकारी गराएका छन्। सरकारले भूकम्पपीडितको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको जनाएको छ।
यता भूकम्पका कारण घरबारविहीन बनेका पीडितले हालसम्म राहत पाउन सकेका छैनन् । सरकारी तथा गैरसरकारी निकायले भूकम्पपीडितका लागि उपलब्ध गराउने भनिएको राहत सामग्री सुगममै थन्किएको छ । भूकम्पका कारण सबैभन्दा क्षति पुगेको जाजरकोट सदरमुकाम खंलगा र पालिकाको केन्द्रमै राहत थन्किएको छ।




















