काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठक बोलाएका छन् । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठक भूकम्प प्रभावित क्षेत्रमा जारी उद्धार, राहत र पुनर्स्थापनाको विषयमा केन्द्रित हुने बताइएको छ ।
कात्तिक १७ गते राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु भइसकेको छ भने साढे ३ सय जना घाइते भएका छन् । १७ हजार ७ सयभन्ला बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।
सरकारले एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने बताएपछि सहयोग गर्नेहरुले सरकारको राहतकोषमा सहयोग गरेका छन् । राहत वितरण शुरु गरिएको सरकारले बताए पनि अधिकांस पीडितले राहत पाउन सकेका छैनन् भने खुला आकाशमा रात विताउन वाध्य छन् ।
सरकारले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । राहत रकम पाइनसकेको र राहत सामग्री पनि थुपारेर राखेको पीडितहरुको गुनासो छ ।



















