काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भूकम्प पीडितलाई सहयोग गर्न आह्वान गरेका छन् ।
उनले पीडितहरूको सहयोगका लागि सबै एकजुट हुन आग्रह गर्दै राहत दिने बाहनामा अनावश्यक भीडभाड नगर्न समेत अनुरोध गरेका छन्।
अध्यक्ष ओलीले जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल,खाद्यान्न,लत्ताकपडा,घाइतेका लागि औषधि उपचार आवश्यक भएको बताएका छन् ।
विपतको बेला तत्कालको आवश्यकता पूरा गर्नुपर्ने बताउँदै अध्यक्ष ओलीले उद्धार, राहत र पुनर्स्थापनाका लागि सबै एकजुट हुन सामाजिक सञ्जालमार्फत् आग्रह गरेका हुन् ।
अध्यक्ष ओलीले विपतमा प्रचारभन्दा सहयोग आवश्यक रहेको बताउँदै अनावश्यक प्रचार नगर्न आग्रह गरेका छन् । एमालेले भूकम्प पीडितलाई १ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा मानिसहरूको लावालस्कर लाग्ने गरे पनि पीडितहरूले भने प्रयाप्त मात्रामा राहत पाउन सकेका छैनन् ।
शुक्रबार राती जाजरकोटको रामडाँडा आसपास केन्द्रविन्दु भएर गएको भूकम्पमा परी हालसम्म जाजरकोट र रुकुमपश्चिममा १५७ जनाको ज्यान गएको छ । करिब दुईसय बढी घाइते भएका छन् भने भौतिक संरचनाहरुमा ठूलो क्षति पुगेको छ ।




















