काठमाडौं । भारतले भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड भारतीय रुपैयाँ (१५ करोड ८८ लाख १ हजार ७५६ नेपाली रुपैयाँ) बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।
भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान नयाँ दिल्लीबाट नेपालगन्ज आएको थियो। सो विमानले ११ टनभन्दा बढी आपतकालीन सामग्री ल्याएको थियो ।

राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ ब्याग,पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन्। ती सामग्रीहरू रादजूत श्रीवास्तवले नेपालगन्ज विमानस्थलमा आयोजित एक विशेष समारोहमा रक्षामन्त्री खड्कालाई उपलब्ध गराएका हुन् ।
शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले जारकोट र रुकुममा ठूलो जनधनको क्षति भएको थियो। भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरूप ती सामग्री आएको हो । आगामी दिनमा पनि थप राहत सामग्रीहरू उपलब्ध गराउने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।




















