काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प पीडितका लागि सहयोग, राहत र उद्दारका लागि एकद्वार प्रणाली लागू गर्ने बताएका छन् ।
आइतबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पीडितको नाममा विभिन्न संघसंस्थाले पैसा उठाउने गरेको भन्दै यसलाई रोक्न एकद्वार प्रणाली लागू गर्ने बताएका हुन् ।
प्रधानमन्त्री दाहालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई एकद्वार प्रणालीबाट राहत र सहयोग उपलब्ध गराइने बताए।
एकद्वार प्रणालीको मुख्य केन्द्र काठमाडौं, सुर्खेत र नेपालगन्जमा राखिने र त्यहीबाट भूकम्प पीडितलाई राहत र सहयोग गर्ने बताए । एकद्वार प्रणालीको समन्वय हाल गृहमन्त्रालयले गर्ने उनले बताए।
प्रधानमन्त्री दाहालले भूकम्पको जोखिम रहेको स्थान र गाउँबस्ती बसाउने विषयमा अध्ययन गरिने बताए । निश्चित मापदण्ड बनाएर घर निर्माण र गाउँबस्ती बसालिने उनको भनाइ छ ।
प्रधानमन्त्रीले घरहरू कसरी बनाउँदा भूकम्पबाट कम क्षति हुन्छ भन्ने कुरा जनचेतना आवश्यक रहेको औंल्याए ।




















