काठमाडौँ । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।
बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पत्रकारलाई जानकारी दिएका छन् । वैठकले सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको हो ।
२०७२ सालको भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन–कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने मन्त्री बस्नेतले जानकारी दिएका छन् ।
भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई राहत रकमको विषयमा सोधिएको प्रश्नमा भने उनले स्पष्ट जानकारी दिएनन् । ‘पहिले तीन लाख रुपैयाँ दिइएको थियो । त्यसलाई थप गर्ने प्रस्ताव छ । तर टुंगो लागिसकेको छैन,’ मन्त्री बस्नेतले भने ।
अब घाइतेको उपचार, राहत र पुनर्स्थापनाको कामलाई सरकारले तीव्रता दिने निर्णय गरेको छ । खाद्यान्न, त्रिपाल र टेन्टहरु केही प्रभावित क्षेत्रमा पुगिसकेको र केही पुग्ने क्रममा रहेको जानकारी दिँदै उनले खाद्यान्न वितरण आजदेखि हुने बताएका छन् ।




















