काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् ।
पार्टी कार्यालय च्यासलस्थित चियापान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति प्रक्रिया टुंग्याउन एमाले तयार रहेको बताए ।
उनले सहमतिकै आधारमा अदालतको आदेशलाई सम्मान गर्दै संक्रमणकालीन न्यायसम्बन्धी मुद्दा सम्बोधन हुनुपर्ने बताए । उनले भने- ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्छ । सहमतिका साथ टुंग्याउनुपर्छ। पीडितलाई केन्द्रमा राखेर टुंग्याउनुपर्छ। सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै टुंग्याउनुपर्छ। अन्तर्राष्ट्रिय समुदायले भनेको कुरालाई पनि ख्याल राख्नुपर्छ।’
शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा आजमात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको थियो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संसदमा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री दाहालले केही साथीहरूले शान्ति प्रक्रियाका विषयमा गलत ब्रिफिङ गरेको आरोप लगाएका थिए ।
त्यस विषयमा सोधिएको प्रश्नमा ओलीले आफूलाई यस विषयमा जानकारी नभएको बताए ।
बरु आजमात्रै प्रधानमन्त्री दाहालसँग छलफल भएको भन्दै राम्रो लक्ष्ण रहेको दाबी गरे।




















