काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत पार्टीका शीर्ष नेताहरू नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापान कार्यक्रममा सहभागी भएका छन् ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुगेका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरूले स्वागत गरेका थिए ।

यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्मानित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापानमा सहभागी भएका छन् ।

त्यस्तै एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादीमा गएका नेतृत रामकुमारी झाक्रीले एमाले अध्यक्ष ओलीलाई पुष्पगुच्छा उपहार दिएकी छन्। उनले पुष्पगुच्छा उपहार दिँदै ओलीसँग तस्बिर खिचाएकी थिइन्।























