काठमाडौं । नेकपा (एमाले)ले हिन्दुको महान् चाड बडादसैं, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा बुधबार आयोजना गरिएको चियापन सुरु भएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै मंगलबारलाई तय गरिएको कार्यक्रम आज सारिएको हो। एमाले अध्यक्ष केपी शर्मा ओलीले चियापानमा सहभागी हुन सबैलाई निम्तो दिएका थिए ।
कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ता, राजदूत, कुटनीतिज्ञ, सुरक्षा निकायका प्रमुख, सरकारी अधिकारी उपस्थित हुनेक्रम जारी छ। ओलीले पाहुनाहरुलाई स्वागत गरिरहेका छन्।
अहिले पार्टी कार्यालयमा नेता कार्यकर्ताको भीड लागेको छ। मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया समावेश छ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा सुरु भएको चियापानमा १२ः३० बजेदेखि पार्टीका कार्यकर्ता र शुभेच्छुक र २ः३० बजेपछि विशिष्ट पाहुना र आमन्त्रितका लागि प्रबन्ध गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
























