काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले नाकाबाट अवैधानिक रुपमा आयातलाई सवै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका छन् ।
फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा मंगलबारबाट ललितपुरको जावलाखेल खेलकुद मैदानमा मा सुरु गरेको ‘१६ औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८०’ उद्घाटन गर्दै मन्त्री भुसालले अवैधानिक रुपमा आयात गरिएका बस्तुहरुलाई नेपालको बजारलाई प्रभावित पारिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सवै लाग्नुपर्ने बताएका हुन ।
अनुमति दिएका बाहेकलाई क्यारेन्टाइनमा नै रोक्न निर्देशन दिएपनि खुल्ला नाका भएकाले कहिकतै चूहावट देखिएको उनले बताए । मन्त्री भुसालले बाँझो जमिन सामुहिक खेती गर्ने सरकारको नीति नै रहेकाले फूल लगाएतका अन्य कृषि बस्तुहरुको उत्पादनमा जोड दिनुपर्ने जिकिर गरेका छन् ।
फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले नेपाली कृषकको उत्पादनलाई प्रोत्साहन एवं प्रवर्धन गर्नको लागि मेला आयोजना गरिएको बताएका छन् ।
तिहारलाई लक्षित गरेर आयोजना गरिएको ५ दिनसम्म चल्ने मेलामा व्यवसायीक स्टल ५५, प्रतियोगितात्मक स्टल दुई र सूचनामूलक पाँच गरी ६२ स्टल रहेको अध्यक्ष तामाङले बताएका छन् । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु प्रदर्शनीमा गोदावरी फूलको विविध विधामा प्रतिस्पर्धा गराई पुरस्कृत गरिने अध्यक्ष तामाङले जानकारी दिएका छन् ।
प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र रु एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष तामाङले बताएका छन् ।
एसोसिएसनका उपाध्यक्ष तथा मेला संयोजक सीताराम पन्तका अनुसार प्रदर्शनीमा सहभागी नर्सरी÷फर्महरुले उत्पादन गरेको गोदावरी फूलका पाँच प्रजातिबीच प्रतिस्पर्धा गराइने छ । प्रतिस्पर्धा हुने गोदावरीको प्रजातिमा मिनियचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र गोदावरीको कट फ्लावर छन् ।
मेलामा टिकट नम्बरका आधारमा हरेक दिन लक्की ड्र पनि गरिनेछ । एसोसिएसनले २०५१ सालदेखि पुष्प मेला÷प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
हाल ४८ जिल्लामा लगभग दुई सय २१ हेक्टरमा पुष्प व्यवसाय भइरहेको छ । जसमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरी चार लाख ४० हजारभन्दा बढी जनशक्ति रोजगार छन् । पुष्प व्यवसायको कारोबार वार्षिक १० देखि १५ प्रतिशतले भइरहेकामा कोरोना महामारीका कारण असर पुगेको थियो । आर्थिक वर्ष २०७८/८९ रु दुई अर्ब ३० करोडको हाराहारीमा पुष्प व्यवसायको कारोबार भएको थियो । साथै आव २०७९/८० मा रु तीन अर्ब सात करोडभन्दा बढीको कारोबार भएको थियो ।