काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० जना नेपालीप्रति दु:ख व्यक्त गरेका छन्। आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि महासचिव गुटेरेसले हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थीप्रति दु:ख व्यक्त गरेका हुन्।
उनले इजरायलमा निधन भएकाको परिवारप्रति समवेदना व्यक्त गरे । उनले हराइरहेका वीपीन जोशी सुरक्षित फर्किने विश्वास समेत व्यक्त गरे। महासचिव गुटेरेसले हमासले इजरायलमाथि गरेको आक्रमणको गहिरो निन्दा गरे ।
महासचिव गुटेरेसले सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमण अस्विकार्य भएको उनले बताए । उनले तत्काल युद्धको अन्त्य गर्न दुवैपक्षलाई आग्रह गर्दै कब्जा लिएका नागरिकहरूलाई विनाशर्त रिहाइ गर्न आग्रह गरे । महासचिव गुटेरेसले सबैपक्षले अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्नुपर्ने बताए।
गाजाको पछिल्लो अवस्था गम्भीर बन्दै गएको उनले बताए । महासचिव गुटेरेसले इजरायलले गाजामाथि निरन्तररुपमा सैनिक आक्रमण गरिरहेको बताए। सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमण अस्विकार्य भएको उनले बताए।
फरक प्रसंगमा उनले नेपाल र संयु्क्त राष्ट्रसंघको सम्बन्ध थप मजबुत बनाउन काठमाडौं आएको बताए। उनले विश्व शान्तिस्थापनार्थ नेपालले खेलेको भूमिकाको प्रशंसा गरे। नेपालमा विगत २० वर्षमा भएका परिवर्तन र उपलब्धीहरू आश्चर्यजनक रहेको उनको भनाइ छ।
उनले नेपालका लागि अरू केही वर्ष महत्वपूर्ण हुने बताए। उनले नेपाल अल्पविकसित राष्ट्रको हैसियतबाट माथि उठ्ने बताए। नेपालको शान्ति प्रक्रिया टुंगिने अन्तिम चरणमा रहेको आफूले पाएको बताए।
अन्तर्राष्ट्रिय मान्यताअनुसार शान्ति कायम गर्न राष्ट्र संघले सघाउने महासचिव गुटेरेसले आश्वासन दिए ।
प्रधानमन्त्री दाहालको निमन्त्रणमा महासचिव गुटेरेस शनिबार राति काठमाडौं आएका हुन्।




















