काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरूप्रतिको आलोचनालाई सकारात्मकरूपमा लिएको बताएका छन्।
बडादसैं, तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
राजनीतिक दलहरूले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दाबी गरे ।
कांग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए।
सो अवसरमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्कटका बेला दल हातेमालो गर्दै अगाडि बढेको विगतका घटना स्मरण गर्दै अबका चुनौतीलाई हल गर्न पनि दल एक हुनुपर्ने बताए ।




















