काठमाडौँ । आज महानवमीका दिन मात्र खुला हुने हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा भक्तजनहरुको बिहानैदेखि भीड लागेको छ ।
तलेजु भवानीलाई नेवार समुदायले इष्ट देवताको रुपमा पुज्ने गर्दछन् । दैवीशक्ति वा मातृशक्तिका रूपमा पनि पुजिने तलेजुलाई ‘तुलजा’ पनि भन्ने गरिन्छ ।
तलेजु भवानीलाई फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको थियो । तलेजु भवानीलाई विजयादशमीका दिन बिहान मूल मन्दिरमा फर्काइन्छ ।
मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले तान्त्रिक विधिपूर्वक कालरात्रि पूजा गर्ने चलन चलेको बताइन्छ ।




















