काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसैँ तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएका छन् ।
सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उहाँले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिएका हुन् ।
चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढीभन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै उनले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत सुझाव दिए ।
उनले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने वित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुत टोली व्यवस्थापन गर्न आग्रह गरे ।
सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिए । उनले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौं उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताए । उनले चाडपर्वको समयमा आफै नियमित वितरण केन्द्रको अनुगमन र निरीक्षणका लागि निस्कने जानकारी गराउँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गरिने बताए ।




















