काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका छन् । भारत सरकारको सहयोगमा १८ जना नेपाली भारत हुँदै नेपाल फर्किने भएका हुन् ।
भारतीय विदेशमन्त्री एस जयशंकरले इजरायलबाट २८६ जना भारत फर्किन लागेको जानकारी दिएका छन् । उनले ट्वीटरमा २८६ जना यात्रु इजरायलबाट भारत फर्किन लागेको जानकारी दिएका हुन् । त्यसमध्ये १८ जना नेपाली नागरिक रहेको उनले उल्लेख गरेका छन् ।
यसअघि नेपाल सरकारले इजरायलमा रहेका २५४ जना विद्यार्थीलाई स्वदेश फिर्ता ल्याएको थियो । नेपाल एयरलायन्सको विमानबाट हमास आक्रमणमा परी घाइते भएका एक जनासहित २५४ जनालाई सरकारले नेपाल फर्काएको थियो ।
प्यालेस्टाइन विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा दस जना नेपालीको मृत्यु भएको थियो । चार जना घाइते भएका थिए भने एक जना अझै सम्पर्कविहीन छन् ।

























