काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपाली संघ (एनआरएन)का अध्यक्ष कुल आचार्य र उपाध्यक्ष डा.बद्री केसीलाई पहिलो गैरआवासीय नेपाली नागरिकता प्रदान गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा आचार्य र केसीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै प्रधामन्त्री दाहालले देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने बताएका छन् ।
गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको पनि स्मरण पनि गराएका छन् ।
गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुलेको थियो । नागरिकता प्राप्त गरेपछि उनीहरूले देश र जनताको नाममा शपथ लिनुपर्ने छ।
गत जेठ १७ गते सरकारले नागरिकता ऐनमा गैरआवासीय नेपालीले नागरिकता पाउन सक्नेगरी संशोधन गरेको थियो। संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई तोकिएबमोजिम शपथ गराउनुपर्ने उल्लेख छ।
गैरआवासीय नेपालीले नेपाली नागरिकता लिनका लागि निवेदक व्यक्ति वा उनका आमा–बुवा, हजुरबुवा–हजुरआमा साविकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने नियमावलीमा उल्लेख छ।
विगतमा नेपाली नागरिकता लिएको गैर आवासिय नेपाली भए पहिलाको नागरिकता त्याग गरेको प्रमाण आवश्यक पर्ने व्यस्था ऐनमा गरिएको छ।



















