काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशमा विकसित घटनाक्रम र पार्टीका नेताहरुको विद्रोहका बारेमा उपसभापति र महामन्त्रीहरुसँग छलफल गर्ने भएका छन् ।
सभापति देउवाले आफ्नै निवास धुम्बाराहीमा ४ वजे उपसभपति र महामन्त्रीहरुलाई बोलाएको बताइएको छ ।
सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीका नेतालाई दिने निर्णय गरेपछि नेता डा. शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेर केदार कार्कीलाई अघि सारेको थियो । कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका छन् ।
कांग्रेसका आठ जनाले विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका छन् ।
कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिएका छन् । उपसभापति धनराज गुरुङ इण्डोनेसिया भ्रमणमा रहेकाले उनी वैठकमा सहभागि हुने छैनन् ।



















