चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनले गरेका काम देखेर केहीलाई छटपटाहट भएर सरकार भत्काउन लागेको आरोप लगाएका छन्। आइतबार पश्चिम चितवनको शारदानगरमा तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले गठबन्धन भत्काउने र सरकार गिराउने प्रयास असफल भएको दावी गरे।
कोशी प्रदेशमा पछिल्लो समयमा विकसित राजनीतिलाई संकेत गर्दै प्रधानमन्त्री दाहालले त्यहाँ गठबन्धन विफल पार्न योजनाअनुसार षड्यन्त्र भएको आरोप लगाए।
उनले अब गठबन्धन पूर्णकार्यकालसम्म जाने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री दाहालले सरकार सुशासन समाजिक न्याय आर्थिक समृद्धिको पक्षमा प्रतिबद्धता रहेको उल्लेख गरे। उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत,अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए।
प्रधानमन्त्री दाहालले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए।
देश बाहिर रहेका नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभइ नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उनको भनाइ छ ।




















