
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली सेनामा राजनीतिक चलखेल नगर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत नेता कोइरालाले राष्ट्रिय सुरक्षासँग जोडिएको र राजनीतिबाट टाढा रहेको सेनामा हुने चलखेलले दुर्घटना निम्त्याउने उल्लेख गर्दै त्यस्ता हस्तक्षेप अस्वीकार्य रहेको चेतावनी दिएका हुन् ।
सहायक रथी यमबहादुर अधिकारीको पदावधि थप्ने निर्णयप्रति इंगित गर्दै नेता कोइरालाले पूर्वलडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य नहुने बताएका हुन् ।
उनले लेखेका छन् ‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन । सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं । सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस ।’

माओवादी लडाकुबाट सेनामा समायोजन भएर गएकामध्ये सबैभन्दा उच्च पदमा पुगेका सहायक रथी अधिकारीको चार वर्षे पदावधि सकिएपछि सरकारले तीन वर्ष थप्ने निर्णय गरेको थियो । प्रधानसेनापति प्रभुराम शर्माको अवकाश पछि अधिकारीलाई प्रधानसेनापति बनाउन राजनीतिक चलखेल भइरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ठाडो निर्देशनमा नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याद ३ वर्ष थप गरिएको छ ।
यसअघि २०७६ सालमै विशेष पद सिर्जना गरी ४ वर्षे कार्यकालका लागि सहायक रथीमा बढुवा गरिएका अधिकारीलाई प्रधानमन्त्रीले अर्को ३ वर्षका लागि थमौती गरेका छन् ।
थप नभएको भए उनी असोज १ देखि अनिवार्य अवकाशमा जाने थिए ।
नेपाली सेनाका कर्णेलभन्दा माथिका अधिकारीको सरुवा, बढुवा र म्याद थपसम्बन्धी निर्णय नेपाल सरकारले गर्ने व्यवस्था छ। सरकारले अहिलेसम्म आधिकारिक रुपमा अधिकारीको म्याथ थपिएको कुरा सार्वजनिक गरेको छैन । तर, अधिकारीले अवकाश पाउनुपर्ने अवस्थामा पनि नियमित काम गरिरहेका छन् । जसको अर्थ हो सरकारले लुकाए पनि यो निर्णय भइसकेको छ । निर्णय कार्यान्वयन पनि भइसकेको छ तर यसबारे जानकारी सार्वजनिक गरिएको छैन ।
पुष्पकमल दाहाल पहिलो पटक प्रधानमन्त्री हुँदा कुलबहादुर खड्का (रथी) मार्फत सेनामा चलखेल गर्न खोजेका थिए । अहिले पूर्णबहादुर खड्का (रक्षामन्त्री) मार्फत । त्यतिबेला त्यो षडयन्त्र असफल मात्र भएन, प्रधानमन्त्री दाहालको पद नै गयो । अहिले प्रधानमन्त्री भएका बेला दाहालले पूर्वलडाकुलाई सेनापति बनाएर त्यो पुरानो योजना सफल बनाउन चलखेल गरिरहेका छन् । उनको योजना सफल भएमा सेनाभित्र द्वन्द्व सिर्जना हुने, कमजोर र देश असफल हुने सुरक्षाविद्हरुले चिन्ता व्यक्त गरेका छन् ।

यसैवीच उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्परा विपरित कुनै पनि निर्णय नहुने दावी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेको छन् –“नेपाली सेनाको भावि प्रधान–सेनापतिको नाममा मेरो नाम समेत जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रष्ठ पार्न चाहान्छु । सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन, म यसप्रति पूर्णप्रतिबद्ध छु ।”




















