काठमाडौँ । पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार मनाङ एयरले उडान सुरक्षामा ध्यान नदिएकाले तीन महिनाका लागि उसको एओसी निलम्बन गरिएको हो । तीन महिनाको अवधिमा दुईवटा हेलिकप्टर दुर्घटना भएपछि उक्त कम्पनीको एओसी निलम्बन गरिएको हो ।
प्राधिकरणका अनुसार निलम्बनमा परेको मनाङ एयरले तत्काल हेलिकप्टर ल्याए पनि उडाउन अनुमति पाउने छैन । दुर्घटनाको विस्तृत अध्ययनका लागि प्राधिकरणको प्राविधिक टोली भोलि आइतबार हेलिकप्टर दुर्घटना भएको क्षेत्रमा जानेछ ।
सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको ‘एन–एनजे’कलसाइन हेलिकप्टर आज बिहान जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाइँको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट-२०२३’ अनुसार हालसम्म नेपालमा विभिन्न कम्पनीका ३९ वटा हेलिकप्टर दुर्घटना भएका छन् । ती दुर्घटनामा ९० जनाको मृत्यु भएको छ ।
तीन महिनामा दुई हेलिकोप्टर दुर्घटना
पछिल्ला तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटनाग्रस्त भएका छन् । दुवै दुर्घटना सोलुखुम्बुमा भएका हुन् । गत असार २६ गते मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका एक सदस्यसहित छजनाको मृत्यु भएको थियो ।




















